पुँजीगत लाभकर संकलन झन्डै दोब्बर, आर्थिक गतिविधि सुधारतर्फ


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर संकलन झन्डै दोब्बर पुगेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब रुपैयाँ संकलन भएको पुँजीगत लाभकर चालु वर्षमा बढेर ४० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसलाई अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको संकेतका रूपमा लिइएको छ ।

आयका सबै स्रोतलाई करको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यसहित वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २९ अर्ब ३१ करोड रुपैयाँ संकलन भएकोमा २०७८/०७९ मा यो बढेर ३० अर्ब रुपैयाँ पुगेको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा भने पुँजीगत लाभकर संकलन झन्डै आधाले घटेर १६ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको थियो ।

आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार सो अवधिमा पुँजीगत लाभकर संकलनमा आएको ठूलो गिरावटको प्रमुख कारण रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा परेको दबाब रहेको छ ।

विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको र त्यसको प्रत्यक्ष असर पुँजीगत लाभकर संकलनमा परेको प्रतिवेदनमा उल्लेख छ ।

हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा पनि सुधार आएको छ । यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।