काठमाडौं । पाल्पा प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजबाट संस्थापक गोपाल पोखरेलसहितको समूह औपचारिक रूपमा बाहिरिएको छ ।
पोखरेलसहितको समूहले आफ्नो स्वामित्वमा रहेको सेयरको ठुलो हिस्सा आइटी उद्यमी दिनेश सिलवाल नेतृत्वको समूहलाई बिक्री गरेको हो ।
१३५ जना संस्थापक सेयरधनी रहेको लुम्बिनी मेडिकल कलेजको करिब ६१ प्रतिशत स्वामित्व सिलवालसहितको समूहलाई बेचिएकाे छ ।
२ अर्ब रुपैयाँ मूल्याङ्कन गरिएको कलेजमा सिलवाल समूहले १ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको हो । सिलवाल समूहले गत शनिबारदेखि व्यवस्थापन सम्हालेको छ ।
पोखरेलले भने,“मैले जीवनको आफ्नो महत्वपूर्ण २० वर्षको समय लुम्बिनी मेडिकल कलेजमा खर्चिएँ, अब नयाँ व्यवस्थापनलाई हस्तान्तरण गरेको छु र मैले थोरै सेयरमात्रै बाँकी राखेको छु ।”
सेयर किनबेचसँगै पोखरेल नेतृत्वको सञ्चालक समिति विदा भएको छ ।
नयाँ सञ्चालक समितिको अध्यक्षमा सिलवाल चयन भएका छन् । प्रबन्ध निर्देशकमा डा. बलभद्र अधिकारीका साथै सञ्चालक समिति सदस्यमा निर्दोष खनाल, दिवेश लोहनी र गोविन्द उपाध्याय चयन भएका छन् ।
पोखरेलले आफूले बुटवलस्थित देवदह मेडिकल कलेजमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
पोखरेलले भने,“ अब देवदह कलेजलाई थप प्रभावकारी बनाउने योजना छ । मैले लुम्बिनी मेडिकल कलेजमा निकै मेहनत गरेको छु । ऊर्जाशील समय विताएको छु । नयाँ व्यवस्थापनले लुम्बिनी मेडिकल कलेजमा लैजाने विश्वास छ ।”
पोखरेलको अगुवाईमा विसं. २०६२ सालमा लुम्बिनी मेडिकल कलेज सञ्चालनमा आएको थियो । झण्डै २० वर्षदेखि चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको लुम्बिनी मेडिकल कलेज ३११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
दैनिक बहिरंग विभाग अन्तर्गत ५ सय भन्दा बढी र अन्तरंग विभाग अन्तर्गत ५०० शैयाबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको कलेजले उल्लेख गरेको छ ।
कलेजमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह अन्तर्गत एम.डी./एम.एस.,स्नातमक तह अन्तर्गत एम.बि.बि.एस. र बि.एस्सी नर्सिङ् कक्षा सञ्चालन हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्