नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडाैँ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूले सेवा प्रवेश तथा बढुवाका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।

नुसन्धानका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक गिरीले सन् १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट Secondary School Examination (SLC–India) उत्तीर्ण गरेको भनी पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ।

बिहार विद्यालय परीक्षा समिति, पटनाबाट प्राप्त अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको भए पनि गिरीले पेश गरेको प्रमाणपत्रमा रोल कोड ५५०१ र रोल नम्बर ७१८ उल्लेख रहेको पाइएको छ। यसका आधारमा उक्त SLC प्रमाणपत्र नक्कली भएको ठहर गरिएको हो।

उक्त नक्कली शैक्षिक योग्यताको प्रयोग गरी गिरीले मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट PCL in Nursing तथा मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट Post Basic Bachelor in Nursing को शैक्षिक योग्यता हासिल गरेको देखिएको छ।

सोही प्रमाणपत्रका आधारमा उनले मिति २०५२ साल मंसिर १६ गते नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिई क्रमशः बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको, साथै विभिन्न तालिम, लाभ र सुविधा लिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानले निज गिरीले झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको पद, ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि गरेपछि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कसुर गरेको ठहर गरिएको हो।

सोही आधारमा साविक ऐनको दफा १२ र दफा २९ (२) तथा प्रचलित ऐनको दफा १६ (१) अनुसार सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।