काठमाडाैँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सहकारी संस्थाहरूले शंकास्पद तथा सीमा कारोबारको विवरण अनिवार्य रूपमा वित्तीय जानकारी इकाइमा रिपोर्ट गर्नुपर्ने भएको छ। तर हालसम्म सीमित संख्यामा मात्र सहकारी संस्थाहरू उक्त प्रणालीमा आबद्ध भएको पाइएको भन्दै सहकारी विभागले बाँकी सबै सहकारी संघ–संस्थालाई यथाशीघ्र गोएएमएल प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागले जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७(घ) र १०(क) बमोजिम सहकारी संस्थाहरूले आफ्नो कारोबारको आधारमा शंकास्पद कारोबार/गतिविधि प्रतिवेदन (एसटिआर/एसएआर) तथा सीमा कारोबार विवरण (टिटिआर) वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने व्यवस्था छ।
त्यसैगरी, सहकारी विभागले २०७४ मा जारी गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशनमा पनि सहकारी संघ/संस्थाले सीमा तथा शंकास्पद कारोबारको प्रतिवेदन अनिवार्य रूपमा वित्तीय जानकारी इकाइको गोएएमएल प्रणाली मार्फत मात्र पेश गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। यसका लागि सहकारी संस्थाहरूले आफ्ना सदस्यको विवरण कोर सिस्टम वा अन्य विद्युतीय माध्यमबाट अद्यावधिक गरी राख्नुपर्ने उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले २०८२ साल जेठ ८ गते जारी गरेको सूचनामार्फत सर्वे सूचक संस्थाहरूलाई गोएएमएल प्रणालीमा दर्ता भई वेभ वा एक्सएसएल माध्यमबाट एसटिआर, एसएआर तथा टिटिआर रिपोर्टिङ गर्न अनुरोध गरेको थियो।
तर पटक–पटक निर्देशन जारी हुँदासमेत हालसम्म गोएएमएल प्रणालीमा आबद्ध सहकारी संस्थाहरूको संख्या करिब २२०० मात्र रहेको पाइएको सहकारी विभागले जनाएको छ। देशभर सञ्चालनमा रहेका सहकारी संस्थाहरूको तुलनामा यो संख्या न्यून भएको भन्दै बाँकी सहकारी संघ–संस्थालाई यथाशीघ्र उक्त प्रणालीमा आबद्ध हुन सूचनामार्फत आग्रह गरिएको हो।



प्रतिक्रिया दिनुहोस्