काठमाडाैँ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन् ।
आयोगकाअनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनकाअनुसार आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए । निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उनको भनाइ छ ।
उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिए । उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए । सोमवार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने बताए ।
प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे ।
आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उनको बताए । उनले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए। उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताए ।



प्रतिक्रिया दिनुहोस्