उज्यालो नेपालसँग एकतापछि रास्वपामा तीन उपसभापति, कुलमान घिसिङ पहिलो वरियतामा


काठमाडाैँ । उज्यालो नेपाल पार्टीसँगको एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय संरचनामा तीन जना उपसभापति रहने निश्चित भएको छ ।

आज सम्पन्न एकता प्रक्रियाका क्रममा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षी बसेर गरिएको उक्त सम्झौतामा एकीकृत पार्टीको नेतृत्व संरचना स्पष्ट गरिएको छ ।

सातबुँदे सहमतिमा समेटिएको चौथो बुँदाअनुसार एकीकृत राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् । त्यस्तै, उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ ।

सम्झौतापत्रअनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तीन उपसभापतिमध्ये पहिलो वरियतामा रहनेछन् । एकतापछि पार्टीको सांगठनिक सन्तुलन र नेतृत्व संयोजनलाई ध्यानमा राखेर यस्तो संरचना तय गरिएको नेताहरूले बताएका छन् ।