काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि प्रकट गर्ने नाममा ढुंगामुढा, आगजनी र तोडफोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
महानिरीक्षक कार्कीले समाजमा सहयोगी मनको विकास हुन सके अपराध नियन्त्रण, विकास र शान्ति सम्भव हुने बताए । नागरिकको सहयोगकै कारण प्रहरी भवन निर्माण सम्भव भएको र सवारी साधनसमेत प्राप्त भएको उल्लेख गर्दै उनले अपराधविरुद्धका महत्वपूर्ण सूचनासमेत नागरिकबाट प्राप्त भइरहेको जानकारी दिए। उनका अनुसार असल संगत र सहयोग पाएमा कुनै पनि व्यक्ति सकारात्मक बन्न सक्छ।
नेपाललाई हिंसा, आगजनी र आफ्नै सम्पदा नष्ट गर्ने मुलुकका रूपमा होइन, शान्तिप्रेमी, विकासप्रेमी, कानून पालना गर्ने र समानतामा विश्वास गर्ने नागरिक भएको देशका रूपमा विश्वमा चिनाउनुपर्ने उनको भनाइ छ।
भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने प्रश्न आज गम्भीर बनेको उल्लेख गर्दै विभाजन, झगडा र हिंसाले भरिएको समाजले सन्तानको सुरक्षा र भविष्य सुनिश्चित गर्न नसक्ने उनले स्पष्ट पारे । सुरक्षित र सुन्दर भविष्यका लागि अहिलेको पुस्ताले थप जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।
महानिरीक्षक कार्कीले जेन–जी आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार नागरिकको सहयोगमा फिर्ता भइसकेको जानकारी दिए। आन्दोलनका क्रममा बद्मासी गर्नेहरू पनि क्रमशः कानूनी दायरामा आएको उनले बताए। साथै, ड्युटीका क्रममा ज्यान गुमाएका स्वर्गीय सहायक हवलदार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङलाई नेपाल प्रहरीमा करार सेवामा रोजगारी उपलब्ध गराइने पनि उनले घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्