काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले बन्दसूची बुझाएका छन् । तर तीमध्ये २२ वटा दलले मात्रै ११० सिटका लागि पूर्ण उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगमा पुस १३ र १४ गते दलहरुले बन्दसूची पेस गरेका थिए ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६४ दलले सूची बुझाए पनि ५८ दलले ५८ वटा चुनाव चिह्नमा उम्मेदवारी दिएका छन् । ११० वटै सिटमा उम्मेदवारी दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत छन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र मंगोल नेसनल अर्गनाइजेसनले पनि पूरै सिटमा उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), श्रम संस्कृति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि यो सूचीमा अटाएका छन् ।
नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाली जनता दल र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११० जनाकै नाम बुझाएका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि सबै सिटमा उम्मेदवारी दिएका छन् । केही दलले भने साझा निर्वाचन चिह्न लिएर संयुक्त रुपमा ११० जनाको सूची बुझाएका छन् ।
आयोगका अनुसार एउटा चुनाव चिह्नमा औसत ६० जनाको उम्मेदवारी परेको छ । कम्तीमा ११ जनाको नाम बुझाउने दलको संख्या १० छ । एकल चिह्न लिने दलको संख्या पनि १० नै छ ।
समानुपातिकमा भाग लिन ९३ दलले आवेदन दिएका थिए । तर अन्तिममा ६४ दलले मात्र बन्दसूची बुझाए । यसपालि दलहरुले २०७८ सालको जनगणना अनुसार उम्मेदवारी दिएका हुन् ।
सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ ल्याएर समावेशी समूहको प्रतिशत हेरफेर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्