निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा छैनः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन्।

बुधवार महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य : सामूहिक पहल’ कार्यक्रममा उनले मुलुकमा लगानीमैत्री वातावरण नबनेको भन्दै सरकारलाई तत्काल प्रभावकारी वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालका अनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमै परेको छ। निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता हुन नसक्दा लगानीकर्ता निरुत्साहित भएका उनको भनाइ छ।

गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउने खतरा बढेको उल्लेख गर्दै उनले उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, पेशा–व्यवसाय गर्न पाउने स्वतन्त्रता र सम्पत्तिको सुरक्षाको अनुभूति अनिवार्य रहेको बताए ।

उनले लगानी, रोजगारी र समृद्धिबीचको अन्तरसम्बन्ध स्पष्ट पार्दै भने, “लगानी नभएसम्म रोजगारी सिर्जना हुँदैन, रोजगारी नहुँदा आयस्तर सुधार हुँदैन र आयस्तर नबढेसम्म मानव विकासमा अपेक्षित सुधार सम्भव हुँदैन” शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राजस्व बढ्नुपर्ने र त्यसका लागि निजी क्षेत्रले काम गर्न पाउने वातावरण तथा प्रोत्साहनमुखी नीति आवश्यक रहेको उहाँको जोड थियो।

अध्यक्ष ढकालले पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा रहेको र बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार हुँदाहुँदै पनि निजी क्षेत्र रकम लिएर उद्यम गर्न नचाहेको अवस्था रहेको उल्लेख गरे। यसकै कारण राजस्वले कर्मचारीको तलब–भत्ता धान्नसमेत कठिन अवस्था सिर्जना भएको उनको भनाइ छ। पूर्वाधार क्षेत्रमा लगानी हुन नसकेको र निजी क्षेत्रले निर्माण गर्न खोजेका पूर्वाधारमा पनि विभिन्न बहानामा अवरोध आउने गरेको उनले गुनासो गरे ।

पूर्वाधार निर्माण र उद्योग–कलकारखाना विस्तार बिना रोजगारी सम्भव नहुने उल्लेख गर्दै अध्यक्ष ढकालले सरकारले वर्षमा ३ हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिनसकेको तथ्य प्रस्तुत गरे । निजी क्षेत्र संकुचित हुँदा रोजगारीका अवसर घटेको र त्यसकै कारण युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ। विदेशमा निजी व्यवसायमा काम गर्न सक्ने नेपाली युवाले स्वदेशमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न नपाउने अवस्था हुनुको मूल समस्या नीतिगत अवरोध र झन्झटिला प्रक्रियाहरू रहेको उनले बताए ।

निजी क्षेत्रप्रति सर्वसाधारणमा समेत नकारात्मक धारणा बढ्दै गएको र पछिल्लो समय भएका आगजनी तथा तोडफोडका घटनाले व्यवसायीलाई थप निराश बनाएको उल्लेख गर्दै अध्यक्ष ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल आवश्यक ठानेर सबै सरोकारवालालाई कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको निजी क्षेत्रप्रतिको समाजको दृष्टिकोण बुझ्न महासंघले यस्ता सार्वजनिक कार्यक्रमहरू आयोजना गरिरहेको छ।

अध्यक्ष ढकालले निजी क्षेत्रले राजनीतिक प्रतिबद्धता खोजेको उल्लेख गर्दै राजनीतिक स्थायित्वका लागि निर्वाचनमार्फत लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको बताउनुभयो। निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म देश सफल हुन नसक्ने र निजी क्षेत्र असफल भए त्यसको असर आगामी पुस्तासम्म पर्ने चेतावनीसमेत उनले दिए । नेपालमा पछिल्ला ७५ वर्षमा आधा दर्जनभन्दा बढी निर्णायक राजनीतिक आन्दोलन भए पनि समयअनुकूल सर्वसाधारणको जीविकामा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ।

कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्र संरक्षण र प्रवर्द्धनका लागि स्पष्ट माग पनि अघि सार्नुभयो। उहाँले देशका रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व सङ्कलन र सम्पत्ति निर्माणमा योगदान पुर्‍याउने उद्यमी–व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा–व्यवसाय र सम्पत्तिको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान सुनिश्चित हुने गरी उद्योग–व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रूपमा मन्त्रिपरिषद्बाट पारित गरी निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति लागू गर्न माग गरे ।

निर्धारित समयमै निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी दिनमा कुनै पनि बहानामा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण सिर्जना हुन नहुने धारणा राखे । मुलुकमा दण्डहीनतालाई प्रश्रय दिन नहुने र निर्वाध रूपमा पेशा–व्यवसाय गरी जीवनयापन गर्न पाउने अधिकार सबैको नैसर्गिक अधिकार भएको उनको भनाइ थियो।