काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनपछि देशका केही प्रमुख राजनीतिक दलका शीर्ष नेताले आफूलाई राजसंस्था पुनःस्थापनाका प्रयास गर्न आग्रह गरेको दाबी गरेका छन्।
बुधवार काठमाडौँमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देश सङ्कटमा परेको बेला ती नेताले राजसंस्थालाई पुनःस्थापना गर्न पहल गर्न आग्रह गर्दै राजनीतिक वातावरण तयार पारिदिने पनि बताए। तर, उनले ती नेताहरूको नाम खुलाएनन्।
अध्यक्ष थापाले भने, “भदौ २४ गते राति ११ बजे प्रमुख राजनीतिक दलका दुई जना नेताले फोन गर्नुभयो। उहाँहरुले भन्नुभयो–‘कमलजी, देश संकटमा छ, जसरी पनि जोगाउनुपर्यो। तपाईंले केही प्रयास गर्न सक्नुहुन्छ भने गर्नुहोस्। राजालाई फर्काउनैपर्नेछ, देश जोगाउनु पर्छ। राजनीतिक वातावरण हामी तयार पार्छौं।’ तर त्यसबेलामा मेरो कुनै ठोस प्रयास गर्ने हैसियत थिएन, सम्भावना पनि रहेन।”
उनले जेनजी आन्दोलन राष्ट्रवादी शक्तिहरूबिचको एकता उत्प्रेरक बनेको पनि उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन ग्यारेन्टी कसले दिन्छ भनेर प्रश्न उठाए ।



प्रतिक्रिया दिनुहोस्