विचार मिल्ने दलको सरकार बने देशमा स्थायित्व आउँछ: मन्त्री सिन्हा


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनेमा देशमा राजनीतिक स्थायित्व प्राप्त हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले एकल दलले सरकार गठन गर्न नसक्ने अवस्थामा समान विचारधारा भएका दलहरू एकजुट भएर सरकार बनाउनु नै वर्तमान आवश्यकता भएको धारणा राखे । त्यसो गर्दा मुलुकमा स्थायित्व आउने उनको भनाइ थियो।

मन्त्री सिन्हाले अबको नेतृत्व गर्ने स्थानमा जेन–जी पुस्ता आउनुपर्ने उल्लेख गरे। सकारात्मक सोच र केही गर्नुपर्छ भन्ने इच्छाशक्ति भएका युवाहरूलाई अघि बढाउन आवश्यक रहेको उनले बताए। यसका लागि स्पष्ट प्रतिबद्धता जरुरी रहेको भन्दै उहाँले यो वर्तमान पुस्ताका लागि अन्तिम अवसरसमेत भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै उनले मुलुकलाई शान्ति र स्थिर सरकारको आवश्यकता रहेको बताए । “मुलुकमा शान्ति चाहिन्छ, त्यसका लागि स्थिर सरकार आवश्यक छ। एउटा पार्टीले सरकार बनाउन नसक्ने अवस्थामा विचार मिल्ने पार्टीहरू मिलेर सरकार बनेमा राजनीतिक स्थायित्व दिन सक्छ,” उनले भने ।

मन्त्री सिन्हाले कम्पनी रजिष्ट्रार कार्यालयको कामकाज अझै फेसलेस प्रणालीमा नपुगेको उल्लेख गर्दै कार्यशैली र प्रक्रियामा सुधार आवश्यक रहेको बताए । संविधान राम्रो भए पनि कार्यान्वयनका क्रममा चुनौतीहरू देखिएको भन्दै आवश्यक परे संशोधन गर्नुपर्ने धारणा पनि उनले राखे ।

उनले वर्तमान अवस्थामा देशलाई शान्ति र स्थायित्वको दिशामा लैजान राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।