काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतकाे कुस्मा नगरपालिकाको खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा लापरबाही र अनियमिततासम्बन्धी मुद्दा दायर गरेको छ। आयोगका अनुसार चार वर्ष वितिसक्दा पनि भवन पूरा नहुने, ठेकेदारले काम नगर्ने र भएको काम गुणस्तरीय नहुने उजुरी प्राप्त भएपछि अनुसन्धान गरिएको थियो।
अख्तियारका अनुसार आ.व. २०७८/७९ मा संघीय सरकारले विशेष अनुदानमार्फत रु. १ कराेड ६६ लाख विनियोजन गरी खरेहाको ज्येष्ठ नागरिक भवन निर्माणको ठेक्का मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु. ९६ लाख ३० हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। ठेकेदारले तोकिएको समयमा काम नपुर्याएको र सम्पर्कमा नआएको अवस्थामा, पुरानो ठेक्का अन्त्य गरी नयाँ ठेक्का गर्नुपर्ने अवस्था आयो।
तर, अनुसन्धानमा ठेकेदारसँगको मिलेमतोका कारण पेश्की रकम रु. १२ लाख ५६ हजार बढी भुक्तानी भएको, बैंक जमानत जफत नगरी म्याद सकिएको र सरकारी हानि रु. १ कराेड १३ लाख ४४ हजार २१६.८६ पुगेको देखिएको छ। यस क्रममा कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, इन्जिनियर आशिष शाक्य, लेखा अधिकृत कृष्ण प्रसाद शर्मा र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर लाल बहादुर मल्लसँग मिलेमतो भएको आरोप छ।
अख्तियारले सबै संलग्नविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर गरी जरिवाना र बिगो असुलको माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्