समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने


काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ । 

आयोगले शुक्रवार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए ।

तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूचि पेश गरेको उनले जानकारी दिए । बन्दसूचि पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूचि पेश गरेका छन् ।

उनले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाईको काम गरिएको भएकोले सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छापिने गरेको बताए । तर यसपटक भने समानुपातिक बन्दसुची पेश गरेका दलहरुको चुनाव चिन्ह मात्रै राखेर मतपत्रको छपाई गरिने उनले जानकारी दिए । उनका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित भएको छ । यद्यपि आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूचि अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उनले बताए।

उनले बन्दसुचीमा समानुपातिक कलष्टर नमिलेको अवस्था र बन्दसूचिमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचिमा रहेका नाम परिवर्तन गर्न सकिने बताए । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाई छ । अन्तिम सूचि प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उनले जानकारी दिए । उनले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी जानकारी दिए ।