भद्रपुर विमानस्थल घटनाबारे छानबिनमा प्राधिकरणलाई पूर्ण सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता


काठमाडाैँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन–एमएफ कलसाइन रहेको एटीआर–७२ विमान अवतरणका क्रममा रन–वे बाहिर गएको घटनाप्रति बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको छ।

एयरलाइन्सले घटनापछि उद्धार कार्यमा तदारुकताका साथ खटिएका नेपाल प्रहरी, नेपाली सेना, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा आफ्ना कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ।

उक्त घटनाका बेला जहाजमा सवार ५१ जना यात्रुमध्ये केही यात्रु सामान्य घाइते भए पनि उनीहरूको प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जनाएको छ।

घटनाको कारण पत्ता लगाउन विस्तृत छानबिन आवश्यक रहेकाले नागरिक उड्डयन प्राधिकरणले गर्ने अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत बुद्ध एयरले व्यक्त गरेको छ।

एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता घटना नदोहोरिन आवश्यक सबै उपाय अपनाइने जनाएको छ।