काठमाडाैँ । लाङटाङबाट पोखरा हुँदै काठमाडौँमा अशोक सिलवालको कृति ‘एभरेस्ट’ माथि विमर्श सम्पन्न भएको छ । शब्द, हिमाल र जीवनलाई एउटै सूत्रमा गाँसेर आयोजना गरिएको यो डिस्कोर्स् नयाँ स्वाद र शैलीको भएको सहभागीहरूको भनाइ छ ।
थापागाउँस्थित कुन्जथिएटरमा सम्पन्न कार्यक्रममा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्स् उद्घाटन गर्दै लेखक अशोक सिलवालको लेखन यात्रामाथि प्रकाश पारेका थिए । सिलवाललाई ‘एभरेस्ट’का लेखकका रूपमा स्थापित गरेपछि विमर्श कृतिमै केन्द्रित भएको थियो ।
त्यसक्रममा लेखकका सात वर्षीय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गीत प्रस्तुत गर्दा थिएटर लगातारको तालीले गुञ्जिएको थियो । दर्शकको उत्साहले उपस्थित सबैलाई एभरेस्टकै उचाइमा पुगेको अनुभूति गराएको थियो ।
डिस्कोर्समा लेखककी टिनएज छोरी अदितीले राइटिङ अब्जर्भरका रूपमा आफ्ना अनुभूति सुनाउँदा वातावरण भावुक बनेको थियो । मालिशा शर्मालगायतले पुस्तकप्रति विदेशी पाठकका समीक्षाहरू वाचन गरे ।
जेनजी सभ्यता नेपालले पाठक प्रतिक्रिया प्रस्तुत गरेकी थिइन् । संस्कृतिविद् डा। निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश दुलाल, इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले ‘एभरेस्ट’का विविध आयाममाथि रोचक विमर्श गरेका थिए ।
यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला धौलागिरी, अन्नपूर्ण र मनास्ला हिमशिखरलाई पृष्ठभूमि बनाएर माछापुच्छ्रे काखस्थित अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा विमोचन गरिएको थियो ।
त्यसअघि पुस्तक लाङटाङ क्षेत्रको झण्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक गरिएको थियो । “किताब संसारशिर सगरमाथामा आधारित भए पनि यो भुईंतिरको यात्रा हो,” लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक सिलवालले भने।
‘एभरेस्ट’ अशोक सिलवालको पाँचौँ कृति हो । डकुमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश यात्रा समेटिएको ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।
डिस्कोर्स् कार्यक्रमकै क्रममा लेखक सिलवालले महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बराल, सचिव सुष्मा तामाङ तथा सदस्यहरू लक्ष्मी कार्की, गीता शर्मालगायत नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्