काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीले चुनावी तालमेल गर्ने बताएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले एक्लै परिणाम निकाल्न नसक्ने भएकाले अन्य दलसँग तालमेल गर्नुपर्ने तर यसलाई गठबन्धनको रुपमा नलिनुपर्ने स्पष्ट पारेका हुन्।
उनले प्रतिनिधि सभाको निर्वाचनमा भने पार्टी आफ्नै एजेन्डा लिएर एक्लै जनतामाझ जाने बताए। आम निर्वाचनलाई पार्टीको सिद्धान्त, नीति र विचार जनसमुदायसम्म पुर्याउने माध्यमको रुपमा लिनुपर्ने उनको भनाइ थियो।
उनले भने, “राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन। त्यसैले चुनावी तालमेल हुनेछ, यसलाई गठबन्धन होइन। तर प्रतिनिधि सभाको निर्वाचनमा पार्टी एक्लै जाने महासमितिको निर्णय छ। आम निर्वाचन भने पार्टीको विचार जनतासम्म पुर्याउने माध्यम हो।”
उनले पार्टीको विशेष महाधिवेशन नहुने निर्णय पनि दोहोर्याउँदै यसको औचित्य सकिसकेको बताए । सबै नेता तथा कार्यकर्ताले केन्द्रिय कार्यसम्पादन समितिको निर्णय मान्नुपर्ने र अहिले चुनावको तयारीमा जुटेर एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको जोड थियो।
सिटौलाले आगामी निर्वाचनमा एकतावद्ध भएर जाने हो भने राम्रो नतिजा ल्याउन सकिने र निर्वाचनपछि १५औँ महाधिवेशनको कार्यतालिका बनेको उल्लेख गर्दै आन्तरिक प्रतिष्पर्धा र कलहको समय नभएको स्पष्ट पारे ।
उनले भने, “विशेष महाधिवेशन हुँदैन, यसको औचित्य सकिसकेको छ। पार्टीको निर्णय सबैले मान्नुपर्छ। देशभरका कार्यकर्ता निर्वाचनको तयारीमा जुट्नुपर्छ। निर्वाचन बाह्य प्रतिष्पर्धा हो, महाधिवेशन आन्तरिक प्रतिष्पर्धा। अहिले आन्तरिक प्रतिष्पर्धा गर्ने बेला होइन।” सिटौलाले काँग्रेसले आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्