काठमाडौँ । नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन आगामी माघ ६ र ७ गते हुने भएको छ।
साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। कात्तिक २९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो मिति तय गरेको थियो।
सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रगति विवरण प्रतिवेदन (आ.व. २०८१/८२) र आगामी आ.व. २०८२/८३ को नीति, बजेट तथा कार्यक्रमबारे छलफल गरी पारित गर्नेछ। त्यस्तै, कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक विवरण प्रतिवेदन र आगामी बजेट तथा कार्यक्रम पनि छलफल गरी पारित हुनेछन्।
साधारण सभामा लेखा परीक्षण प्रतिवेदनसहित आषाढ २०८२ मसान्तसम्मको वित्तीय स्थिति, २०८१ साउन १ देखि २०८२ असार मसान्तसम्मको नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र कोष परिवर्तनसम्बन्धी विवरण पनि छलफल गरी पारित गरिने छ। साथै, आगामी आ.वा.२०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र तिनको पारिश्रमिक निर्धारण गर्ने पनि तय हुनेछ।
सभामा सहभागी हुनका लागि केन्द्रीय एसोसिएसनको नियमअनुसार सदस्यहरूले आफ्नो सदस्यता नविकरण दस्तुर शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने बताइएको छ।
प्रत्येक प्रदेश कार्यसमिति र मातहतका जिल्ला कार्यसमितिले पुस मसान्तसम्म वार्षिक प्रतिवेदन, लेखा प्रतिवेदन र सदस्यता विवरणसहित नविकरण दस्तुरको भौचर केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ।
साधारण सभा तथा अधिवेशनका प्रतिनिधिको आवश्यक सहजीकरणका लागि संघले दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, हेमचन्द्र खनाल, बिय चौरासिया र रामभक्त दाहाललाई सहजकर्ता तोकेको छ।


प्रतिक्रिया दिनुहोस्