काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् ।
सोमवार काठमाडौँमा डा. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतवारबाट नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।
तर संस्थापन पक्षसहितका शिर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोईराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरूले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए।
शेखर कोइरालाले आत्मसमर्पण गरेकाे भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरूसँग आफूले पहल गर्ने कोइरालाले बताएको जानकारी दिए। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरूको माग हाइज्याक भएको बताए ।
उनले डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे। वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला काँग्रेसको सभापति बन्ने बताए ।


प्रतिक्रिया दिनुहोस्