काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको बताएका हुन् । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनकाे भनाइ छ ।
संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उनले जिकिर गरे । उनले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गरे ।
थापाले राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने गरी सरकार बन्नेगरी मतदान गरेर जिताउन आह्वान गरेका छन् । मुलुकको धरातलीय यथार्थलाई हृदयंगम गर्दै राप्रपाको नेतृत्वमा सरकार बन्नसक्ने बहुमत दिन आग्रह गरेका हुन् ।
भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने जिकिर गरे । राप्रपाले निर्वाचन जिते हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्