काठमाडौँ । यूएईमा अध्ययन गराइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) का सञ्चालकहरू पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै विद्यार्थीहरूलाई भ्रममा पारी ठगी गरेको अभियोगमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार ती कन्सल्टेन्सीहरूले फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त भनी यूएईमा रहेका कलेजमा क्रेडिट ट्रान्सफर हुने शैक्षिक कोर्स अध्ययन गराइदिने आश्वासन दिएका थिए।
तर, यूएईका सबै शैक्षिक संस्थालाई अनुमति दिने उच्च शिक्षा मन्त्रालयअन्तर्गतको निकाय एमओएचईएसआर तथा कमिसन फर एकेडेमिक एक्रेडिटेसन (सीएए) बाट स्वीकृति नलिएका ट्रेनिङ इन्स्टिच्युटमा विद्यार्थीलाई पठाइएको प्रहरीको दाबी छ।
यस क्रममा प्रति विद्यार्थी ८ लाख रुपैयाँदेखि २२ लाख रुपैयाँसम्म रकम असुल गरिएको र हालसम्म १३ जना पीडितले जाहेरी दिएको सीआईबीले जनाएको छ। सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार अभियुक्तहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट दुप्चेश्वर नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३१ स्थित बेस्ट पाथ एजुकेसन प्रा.लि. का सञ्चालक २९ वर्षीय कृष्ण थापा, कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–७ नारायणगोपाल चोकस्थित मर्सी एजुकेसन कन्सल्टेन्सी प्रा.लि. का सञ्चालक रामचन्द्र टन्डन रहेका छन्।
यसैगरी काठमाडौँ महानगरपालिका–३१ स्थित सिटीहब एजुकेसन नेटवर्क प्रा.लि. का सञ्चालक ३१ वर्षीय सुवास सिलवाल क्षेत्री, दार्चुला लेकम गाउँपालिका–२ स्थायी ठेगाना भई हाल लाजिम्पाटस्थित कान्तिपुर अब्राड कन्सल्टेन्ट प्रा.लि. का सञ्चालक ४८ वर्षीय हेमराज भट्टडू तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ स्थायी ठेगाना भई हाल सोही कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय दामोदर ढकाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा थप पीडितहरू सम्पर्कमा आउन सक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्