कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता छः मन्त्री परियार


काठमाडौँ । आज राष्ट्रिय कृषि जैविक विविधता दिवसको चौथो संस्करण मनाइँदैछ। यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले शुभकामना दिदैँ कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्।

मन्त्री परियारले भने, “कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा हो। यसको संरक्षण, सम्बर्द्धन र उपयोगले दिगो उत्पादन, वातावरणीय सन्तुलन, जलवायु जोखिम न्यूनीकरण र राष्ट्रिय पहिचानमा योगदान पुर्‍याउँछ। युवाहरू नवप्रवर्तन, आधुनिक प्रविधि, अनुसन्धान, डिजिटल समाधान र उद्यमशीलतामार्फत यसको संरक्षण र उपयोगलाई नयाँ उचाइमा पुर्‍याउन सक्छन्।”

नेपाल जैविक विविधता सम्बन्धी महासन्धिको पक्षराष्ट्र भएको छ र नेपालले दिगो विकास लक्ष्य अनुसार जैविक विविधताको संरक्षणलाई आन्तरिक योजनामा समावेश गरेको छ। कृषि जैविक विविधताको संरक्षणका लागि नेपाल सरकारले नीति, कानुनी र संस्थागत व्यवस्था गर्दै आएको छ। यसमा प्रमुख रूपमा कृषि जैविक विविधता नीति, २०६३, वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ र बीउ विजन ऐन, २०८१ समावेश छन्।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले पर-स्थानीय संरक्षण तथा बाली प्रजननमा जैविक विविधताको उपयोग गर्दै आएको छ। कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सचेतना अभिवृद्धि, क्षमता विकास, स्व-स्थानीय संरक्षण, रैथाने बाली प्रवर्द्धन, फिल्ड जिन बैंक सञ्चालन र सामुदायिक बीउ बैंक सुदृढीकरण मार्फत विविधता संरक्षणको कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मन्त्री परियारले विकास साझेदार, गैरसरकारी संस्था र स्थानीय संघ संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अनुसन्धान, शिक्षा र प्रसारमा सहकार्य र साझेदारीको लागि सबैमा आह्वान समेत गरेका छन्।

उनले भने, “राष्ट्रिय कृषि जैविक विविधता दिवस, माचे संकान्ती र माधी पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दै हाम्रो मौलिक संस्कृति र सम्बद्ध कृषि जैविक विविधताको संरक्षणमा एकजुट हुन अनुरोध गर्दछु।”