काठमाडाैँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको पार्टीले आगामी निर्वाचनका लागि घोषणा पत्र निर्माण प्रक्रिया अघि बढाएको छ। पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति गठन गरिएको छ।
बिहीवार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापा नेतृत्वको काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाउन देशभरका पार्टी पंक्तिलाई सक्रिय परिचालन गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ। साथै पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई अपडेट गर्ने, समानुपातिक सूचि संशोधन गर्ने र उम्मेदवारी दर्ताका लागि आवश्यक दस्तखतको तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
चालिसेले भने, “पार्टीका संस्थापक नेताहरूले देखाएका बाटोलाई सम्झँदै, शहीदहरूको पीडालाई आत्मसात गर्दै बदलिएको परिस्थितिमा सच्चिएको काँग्रेस निर्माण गर्दै अघि बढ्ने रणनीति तय गरेका छौँ। आगामी निर्वाचनमा काँग्रेसलाई सक्षम र दरिलो बनाउन आवश्यक निर्णयहरू लिएका छौँ।” बैठकले विशेष महाधिवेशनमा सहभागी कार्यकर्ताहरूप्रति धन्यवाद पनि व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्