शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोइराला र गगन थापाबिच सहकार्यको तयारी भइसकेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुँदै उनले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका हुन् ।

उनले भने, “शेखर दाइहरू गगन थापासँग मिलेर अघि बढ्ने कुरा पहिले नै निर्णय भइसकेको छ। यसलाई यसरी बुझ्नुपर्छ—शेखर कोइरालाले पार्टी बचाउनका लागि आफ्नो सर्वस्वसमेत त्याग्न तयार हुनुहुन्छ। उहाँहरूले पार्टी फुटेको हेर्ने इच्छा राख्नु भएको छैन, बरू पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउने हेतुले काम गर्दै हुनुहुन्छ।”

उनले थपे “काँग्रेसको कुनै पनि सदस्यको सर्वोच्च बलिदान भए पनि शेखर कोईरालाले पार्टीलाई जलेर भए पनि बचाउने प्रयास गर्नुहुन्छ। पार्टीलाई बचाउनु अहिलेको आवश्यकता हो। यो अभियानमा सबैको एकता जरुरी छ।”

नेता शर्माले काँग्रेस सभापति गगन थापाले पनि पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनेमा केन्द्रित रहेको बताए ।उनले निर्वाचनमा विजयी हुनका लागि पार्टीका सबै समूहले गगन थापाको नेतृत्वमा एकता कायम गर्नु बाहेक विकल्प नरहेको समेत स्पष्ट पारे ।