प्रतिबन्ध हटेसँगै चुनावी तयारीसहित ओली पहिलोपटक पुगे झापा


काठमाडाैँ । लामो समय काठमाडौँ उपत्यकामा सिमित रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् ।

सोमवार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो ।

विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल सुरू गरेका छन् । गत भदौमा भएको युवा नेतृत्वको जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौँ उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो ।

आयोगले हालै प्रतिवन्ध हटाएसँगै ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा गएका हुन् ।

एमालेले यसअघि नै उनलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । जहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र अन्य प्रतिष्पर्धीहरूले पनि दाबी गरेका छन् । यो यात्रालाई ओलीको राजनीतिक कमब्याकको प्रतिकका रूपमा पनि लिइएको छ ।