काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिनुका आधार र लक्ष्य सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी केवल निर्वाचन प्रतिस्पर्धासम्म सीमित नभई देशको समग्र राजनीतिक, आर्थिक र राष्ट्रिय हितसँग जोडिएको दाबी गरेका छन्।
भट्टराईले बदलिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करको प्रभाव नेपालमा पर्न सक्ने जोखिमप्रति सचेत रहँदै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न आफूले प्रतिनिधिसभामार्फत योगदान दिने बताएका छन्।
अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको जटिलताबीच नेपाललाई सुरक्षित र सन्तुलित रूपमा अघि बढाउन अनुभवी नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
उनले देशमा नयाँ र पुराना राजनीतिक दलहरूबीच तथा दलभित्रै बढ्दो द्वन्द्व र असमझदारीका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्न सक्ने अवस्था देखिएको उल्लेख गरेका छन्। यस्तो परिस्थितिमा समन्वयकारी र अभिभावकीय भूमिकामार्फत लोकतन्त्रको रक्षा र स्थायित्वका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
संविधानसभाबाट संविधान निर्माण भएको एक दशक पूरा भइसकेको र ‘जेन–जी’ पुस्ताको असन्तोष र विद्रोहको पृष्ठभूमि देखिन थालेको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधार अपरिहार्य रहेको भट्टराईको ठम्याइ छ।
संविधानका प्रमुख निर्माणकर्तामध्ये एकको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गरी संविधानलाई समयानुकूल बनाउने उनको लक्ष्य रहेको छ।
सुशासन र आर्थिक समृद्धि देशको प्रमुख एजेन्डा बनेको वर्तमान अवस्थामा अर्थ–राजनीतिको ज्ञान र अनुभवको आधारमा तीव्र आर्थिक तथा सामाजिक रूपान्तरणको स्पष्ट मार्गचित्र र कार्ययोजना निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य पनि उनले अघि सारेका छन्। उनले आर्थिक नीतिमा स्थिरता, रोजगारी सिर्जना र समावेशी विकासलाई प्राथमिकता दिने संकेत गरेका छन्।
गोरखाको सन्दर्भमा, भट्टराईले विगतमा आफूले अघि सारेका रूपान्तरणकारी विकास–निर्माणका कार्यलाई आधार मानेर आगामी दिनमा गोरखालाई आधुनिक र समतामूलक आर्थिक विकासको नमूना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।
स्थानीय सम्भावनाको सदुपयोग, पूर्वाधार विकास र सामाजिक न्यायलाई केन्द्रमा राखेर गोरखाको समग्र रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ।


प्रतिक्रिया दिनुहोस्