प्रदेश साना कामका लागि होइन, ठूला योजनाका लागि हुनुपर्छ : बालेन्द्र शाह


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रदेश सरकारलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। जनकपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले प्रदेशको भूमिकालाई साना योजनामा सीमित गर्नु नहुने बताएका हुन्।

उनले प्रदेशको काम एउटा वडामा गएर ५० हजार रुपैयाँको धारा जडान गर्ने जस्ता साना कार्य मात्र नभएको स्पष्ट गरे। प्रदेशले कम्तीमा तीन–चार वटा पालिकालाई समेट्ने ठूला र प्रभावकारी योजना अघि बढाउनुपर्ने उनको भनाइ थियो। “प्रदेशको काम भनेको क्षेत्रगत विकासका लागि दीर्घकालीन र ठूलो असर पार्ने योजना बनाउनु हो,” उनले भने।

शाहले जनकपुरधाम प्रदेशको राजधानी हुँदाहुँदै पनि सामान्य प्रशासनिक कामका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्न समेत काठमाडौं जानुपरेको उल्लेख गर्दै उनले प्रश्न गरे, “प्रदेशको राजधानी यहाँ हुँदाहुँदै किन सबै कामका लागि काठमाडौं जानुपर्छ? यहाँ किन हुँदैन?”

कार्यक्रममा उनले संघीय संरचनालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई स्रोत, अधिकार र निर्णय क्षमतामा बलियो बनाउनुपर्ने आवश्यकता दोहोर्‍याए।