काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै औपचारिक पत्रमार्फत राजीनामा बुझाएका हुन्।
प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको वर्तमान गैरराजनीतिक नागरिक सरकारले सत्ता, शक्ति र स्वार्थभन्दा माथि उठेर इमानदारी, निष्ठा र नैतिकताको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै मन्त्री खरेलले आफूलाई उक्त मन्त्रिपरिषद्मा सहभागी हुन पाउनु गौरवपूर्ण र अविस्मरणीय अनुभव भएको बताएका छन्।
विशेषगरी देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश तथा पहिलो महिला प्रधानमन्त्रीको नेतृत्वमा काम गर्ने अवसर प्राप्त हुनु आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
करिब चार महिनाको संक्षिप्त कार्यकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गर्न प्रयास गरेको उल्लेख गर्दै उनले २०८२ फागुन २१ मा हुन गइरहेको आम निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीबाट भइरहेको अथक प्रयासमा आफू पनि सानो हिस्साका रूपमा जोडिन पाएकामा सन्तोष व्यक्त गरेका छन्।
तर वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई दृष्टिगत गर्दै अब दलीय राजनीतिमार्फत सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नु उपयुक्त ठानेको उनले जनाएका छन्।
गैरराजनीतिक नागरिक सरकारको स्वतन्त्र पहिचानमा कुनै आँच नआओस् भन्ने उद्देश्यले दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै मन्त्री पदबाट राजीनामा दिने निर्णय लिएको उनको स्पष्टोक्ति छ।
राजीनामा पत्रमार्फत उनले प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा स्वीकार गर्न सविनय अनुरोध गर्दै अबको सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्