काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ गते झापास्थित आगजनीबाट क्षति पुगेका स्थानहरूको अवलोकन गरेका छन्।
आफ्नै निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्ने दमक नगरपालिकामा पुगेर अध्यक्ष ओलीले जेन–जी आन्दोलनका क्रममा जलाइएका निजी तथा सरकारी संरचनाको निरीक्षण गरेका हुन् ।
अध्यक्ष ओलीले ३० वर्षअघि आफूले निर्माण गरेको आफ्नै पुरानो बासस्थानको समेत अवलोकन गरे । उक्त घर पछि बेचबिखन भइसकेको भए पनि ‘ओलीले बनाएको घर’ भन्दै जेन–जी समूहले भदौ २४ गते आगजनी गरेको बताइएको छ। घरको अवलोकनका क्रममा ओलीले राधिकाको सञ्चय कोषबाट सात लाख रुपैयाँ निकालेर सो घर बनाएको स्मरण गरे ।
संयोगवश, उक्त घरमा ३० वर्षअघि प्रयोग गरिएको पलङ भने आगोबाट जोगिएको छ। सो पलङ त्यतिबेला दुई हजार रुपैयाँमा किनेको अध्यक्ष ओलीले जानकारी दिए।
यसै क्रममा अध्यक्ष ओलीले दमक नगरपालिकाका प्रमुख राम थापाको आगलागीपछि भत्काइएको घरको समेत अवलोकन गरे। नगर प्रमुख थापाले आफ्नो घरमा लागेको आगोले शरीरमा लगाएको कपडा बाहेक सबै सामान जलेर नष्ट भएको जानकारी गराउँदै निरीक्षणका लागि आएकोमा धन्यवाद व्यक्त गरे ।
अध्यक्ष ओलीले जेन–जी आन्दोलनका क्रममा जलाइएको आफ्नो निर्वाचन क्षेत्रमा आउँदा बस्ने आवासको पनि अवलोकन गरे । निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि कानुनी कारबाही हुने समय आउने स्पष्ट पारे।
त्यसैगरी, अध्यक्ष ओलीले दमकस्थित नगर कमिटी पार्टी कार्यालयको समेत अवलोकन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्