काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय वातावरणमा रहे पनि आफू व्यक्तिगत रूपमा भने पूर्ण रूपमा सहभागी हुन नसकेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकै दिन पर्सा, काठमाडौँ र रुपन्देहीका अदालतमा आफ्ना मुद्दाको सुनुवाइ चलिरहेका कारण निर्वाचनको उत्साहमा मिसिन कठिन भएको उल्लेख गरेका हुन्।
लामिछानेका अनुसार पर्सा जिल्ला अदालतको सुनुवाइ सकिएपछि उनी बाहिर निस्किएका छन् भने अन्य अदालतका आदेश आउने क्रममै छन्।
उनले चितवन क्षेत्र नम्बर २ मा आफ्ना शुभेच्छुकहरू मनोनयनका लागि बाटो कुरिरहेको जनाउँदै सम्भव भएसम्म आफैं उपस्थित हुने प्रयासमा रहेको र नसके वारेसमार्फत मनोनयन दर्ता गरिने बताएका छन्।
उनले आफूविरुद्ध लगाइएका मुद्दा र गरिएको व्यवहारलाई ‘अत्याचार’ को संज्ञा दिएका छन्। सहकारीसँग सम्बन्ध नै नराखेको व्यक्तिमाथि मुद्दै मुद्दा लगाइएको दाबी गर्दै उनले यसको हिसाब–किताब नेपाली जनताले फागुन २१ गते मतदानमार्फत गर्ने दाबी गरेका छन्। “घण्टी बजाएर जनताले न्याय दिनेछन्,” उनले लेखेका छन्।
लामिछानेले आफूविरुद्ध लागेका आरोपमा कुनै प्रमाण नभएको भन्दै ती आरोप लगाउनेहरूलाई ‘पापी’ भनेर टिप्पणी गरेका छन्। साथै उनले प्रतिशोधबिना नै आफूले पाएको व्यवहारको ‘गुण तिर्ने’ चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस्