काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले नगर प्रहरीलाई यससम्बन्धी स्पष्ट निर्देशन दिइएको जानकारी गराएका हुन् ।
नगर प्रहरी प्रमुख जोशीले धुलो र धुवाँ नियन्त्रण, सार्वजनिक शौचालयको व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा वर्कसपसम्बन्धी गतिविधिमा विशेष ध्यान दिनुपर्ने बताए । उनले कामभन्दा बाहिर शक्तिकेन्द्र धाउने प्रवृत्ति अन्त्य गर्न चेतावनी दिँदै अहिले भइरहेका जिम्मेवारीमै केन्द्रित हुन निर्देशन दिए ।
उनका अनुसार महानगरभित्र धेरै विषय नियन्त्रणमा आइसकेका छन् र सुधार पनि देखिन थालेको छ। अब ती उपलब्धिलाई कायम राख्दै नियमित अनुगमनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। विशेष गरी फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणमा नगर प्रहरी अझ सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
नगर प्रहरी प्रमुख जोशीले सेवाग्राही तथा सर्वसाधारणसँग सभ्य, सम्मानजनक र नरम भाषा प्रयोग गर्न आग्रह गरे । बोलचालमा अपमानजनक शब्द प्रयोग नगर्न र सबैसँग शिष्ट व्यवहार गर्न निर्देशन दिँदै उहाँले भाषा व्यवहारमै महानगरको छवि झल्किने बताए ।
साथै, सार्वजनिक स्थलमा धुम्रपान निषेधलाई कडाइका साथ कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको छ। विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिँदै थप सुधारतर्फ अगाडि बढ्ने महानगरपालिकाको प्रतिबद्धता पनि उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्