काठमाडाैँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ताको विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार १६५ सिटका लागि कुल ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
दर्ता भएका उम्मेदवारमध्ये ६८ राजनीतिक दलबाट २ हजार २ सय ९७ जना रहेका छन् भने स्वतन्त्रतर्फ १ हजार १ सय ८७ जनाले उम्मेदवारी दिएका छन्। कुल उम्मेदवारमध्ये पुरुषको संख्या ३ हजार ८८ रहेको छ भने महिला उम्मेदवार ३ सय ९५ जना छन्।
उमेरगत विवरण हेर्दा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३ जना उम्मेदवार रहेका छन्।
३६ देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा बढी १ हजार ६ सय १० जना उम्मेदवार दर्ता भएका छन्। यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जना उम्मेदवार छन् भने ६५ वर्षभन्दा माथिका २ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार सम्पन्न भएको हो। उनले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको बताए।


प्रतिक्रिया दिनुहोस्