सार्वजनिक सवारीमा सीसी र ड्यासबोर्ड क्यामेरा जडान सुरू, ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम उद्घाटन


काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यसहित ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडान कार्यको बुधबार शुभारम्भ गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को सहकार्यमा सुरू भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उद्घाटन गरेका हुन्।

सोही अवसरमा अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडान कार्यको औपचारिक शुभारम्भ पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा यात्रु सुरक्षामा उल्लेखनीय सुधार आउने बताए । उनले दुर्घटना न्यूनीकरण, सवारी अनुशासन र अपराध नियन्त्रणमा यस्ता प्रविधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

सो समारोहमा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन सहयोग पुर्‍याउने विभिन्न संस्था तथा व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा नाइमा, नाडाका प्रतिनिधि, यातायात व्यवसायी, ट्राफिक प्रहरी कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

यसैबीच, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा २३ वटा मोटरसाइकल र २७ वटा स्कुटर आज सम्बन्धित धनीलाई बुझाएका हुन् ।

सवारी साधन चोरी तथा हराउनबाट जोगिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा सवारी साधन पार्क नगर्न अनुरोध गरेका छन् ।