काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) का संरक्षक रेशम चौधरीको प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी खारेज भएको छ।
कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका चौधरीको मनोनयन प्रचलित कानूनअनुसार कायम रहन नसक्ने ठहर गर्दै निर्वाचन अधिकृतले खारेज गर्ने निर्णय गरेका हुन्।
निर्वाचन अधिकृतको निर्णयमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्न आवश्यक कानूनी आधार नपुगेको उल्लेख छ। प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था रहेकाले चौधरीको मनोनयन अस्वीकार गरिएको हो।
टीकापुर घटनासँग सम्बन्धित मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीले यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर आममाफी पाए पनि निर्वाचन कानूनले स्पष्ट रूपमा जन्मकैदको सजाय पाएका व्यक्तिलाई उम्मेदवार बन्न रोक लगाएको निर्वाचन अधिकारीको भनाइ छ।
यो पहिलो पटक होइन जब चौधरीको उम्मेदवारी खारेज गरिएको हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी कारागारमा रहेकाले उनको मनोनयन खारेज भएको थियो।
उक्त निर्वाचनमा चौधरीका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए र हाल नाउपा नेपालमै सक्रिय छन्।


प्रतिक्रिया दिनुहोस्