फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन कार्यवाहक प्रमुखको वातावरण विभागका अधिकारीलाई निर्देशन 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्रोतमा नै फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टाछुट्टै सङ्कलन, ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने अभ्यासलाई निरन्तरता दिन र हालसम्म हासिल उपलब्धिमा कुनै पनि प्रकारको ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।

विभागले हालसम्म सम्पादन गरेका कार्यहरूको प्रगति र नतिजाबारे जानकारी लिने क्रममा वातावरण व्यवस्थापन विभागका अधिकारीहरूसँग भएको छलफलमा उनले सहरी स्वच्छता, सरसफाइ र वातावरणीय सुधारका क्षेत्रमा अपनाइएका असल अभ्यासलाई अझ प्रभावकारी बनाउन जोड दिइन्।

नीतिगत रूपमा सहजीकरण आवश्यक पर्ने विषयमा आफूले आवश्यक भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जनशक्ति, साधन र उपकरणको क्षमतामा कमी आउन नदिन विशेष ध्यान दिनुपर्ने बताइन् ।

कार्यवाहक प्रमुख डंगोलले नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्वको संयोजनबाट मात्र फोहर व्यवस्थापनलाई दिगो बनाउन सकिने उल्लेख गरिन्।

महानगरपालिका क्षेत्रभित्र उत्पादन हुने फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, संकलन, ढुवानी, अन्तिम व्यवस्थापन तथा ल्याण्डफिल साइटको उपयोगका विषयमा तथ्यगत विश्लेषण आवश्यक रहेको उनको भनाइ थियो। यसका साथै स्थानीय तह र अन्य पालिकासँगको अन्तरसम्बन्ध तथा अन्तरसरकारी कार्यक्रमको लेखाजोखा गर्दै वैज्ञानिक र व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सहरमा फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका अभ्यासलाई अझ प्रभावकारी बनाउँदै लगिने बताए। यस्तै, वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले विभागका नियमित तथा आकस्मिक कार्यबारे जानकारी गराउँदै प्रविधिमैत्री कार्यक्रममार्फत नतिजामुखी काम गरिँदै आएको जानकारी दिए ।

छलफलमा यन्त्र तथा उपकरण महाशाखा र वातावरण व्यवस्थापन महाशाखाका प्रमुखहरू, महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक, इञ्जिनियर, वातावरण निरीक्षक, स्यानिटेसन सुपरभाइजरलगायत पदाधिकारीहरूले आफू सम्बद्ध कार्यक्रमबारे जानकारी प्रस्तुत गरेका थिए।