वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा वसन्त श्रवण गरेका हुन्।

शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्त श्रवण गरेका छन् ।

समारोहका क्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला तथा फूलप्रसाद प्रदान गरेका थिए। यस अवसरमा राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो।

वसन्त श्रवण समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।

श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।