काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सक्छ कि सक्दैन भन्ने विषयमा गम्भीर आशंका व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको शुभारम्भ सत्रमा बोल्दै नेता भुसालले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाउँदै यस विषयमा जनस्तरमै गम्भीर चिन्ता रहेको बताए । उनले आगामी निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई मुलुकको संविधान, लोकतान्त्रिक व्यवस्था र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे ।
नेता भुसालका अनुसार अहिले नेपाली जनतासामु कस्तो प्रतिनिधि छनोट गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ। संविधानलाई सुदृढ बनाउँदै देशलाई सही दिशामा अघि बढाउने शक्तिलाई रोज्ने कि संविधान च्यात्ने र मुलुकमा अराजकता फैलाउने शक्तिलाई पराजित गर्ने भन्ने जिम्मेवारी अब जनताकै काँधमा आएको उनको भनाइ थियो।
“निर्वाचनसँग जोडिएर सबैभन्दा पहिलो प्रश्न भनेको वर्तमान सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सक्छ कि सक्दैन भन्ने हो,” नेता भुसालले भने, “सँगसँगै नेपाली जनताले देश निर्माण गर्ने प्रतिनिधि छान्ने कि देशलाई ध्वंसतर्फ लैजाने शक्तिलाई रोज्ने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ।”
उनले लोकतान्त्रिक व्यवस्था र संविधानको संरक्षणका लागि सचेत नागरिक भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै संविधानविरोधी र विध्वंसात्मक सोच बोकेका शक्तिलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी नेता भुसालले राष्ट्रिय सभालाई थप प्रभावकारी बनाउने विषयमा पनि गम्भीर ध्यान दिन आवश्यक रहेको बताए। उनले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक दलहरूबिच आपसी सहकार्य, समझदारी र साझा जिम्मेवारीको भावना आवश्यक रहेको उल्लेख गरे ।
उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै राजनीतिक दलहरूले संकीर्ण स्वार्थभन्दा माथि उठेर मुलुकको हितलाई केन्द्रमा राख्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया दिनुहोस्