हरिबोल गजुरेलसहित सात जना नेताकार्यकर्तालाई नेकपाले गर्‍यो पार्टीबाट निस्कासित


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीकाे निर्णयविपरीत उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारलाई सहयोग गरेको आरोपमा सात जना नेताकार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ।

आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी निर्देशनको अवज्ञा गर्दै स्वतन्त्र उम्मेदवारी दिएको वा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेको ठहर गर्दै उनीहरूमाथि अनुशासनात्मक कारबाही गरिएको पार्टीले जनाएको छ।

पार्टी विधानको दफा १०६ बमोजिम कारबाही गरिएको जनाउँदै पार्टीले सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद के.सी., उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएको हो।

पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशन उल्लङ्घन गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ। पार्टी एकता, अनुशासन र निर्णयको पालना सुनिश्चित गर्न कडा कदम चाल्न बाध्य भएको पनि विज्ञप्तिमा जनाइएको छ।