फागुन २१ पछि प्रधानमन्त्री गगन थापा हुने दाबी, काँग्रेसले सुविधाजनक बहुमत ल्याउँछ : सहमहामन्त्री रसाईली


काठमाडाैँ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले आगामी प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत हासिल गर्ने दाबी गरेका छन् ।

आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट काँग्रेसले साधारण मात्र होइन, सुविधाजनक बहुमत ल्याउने दाबी गरेका हुन् ।

सहमहामन्त्री रसाईलीले नेपाली काँग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गर्दै पार्टीभित्रका सबै समूहलाई समेट्ने गरी आन्तरिक समिकरण मिलाइएको बताए । वर्तमान परिस्थितिमा देशलाई सम्हाल्न सक्ने र छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्न सक्ने नेतृत्व काँग्रेस सभापति गगन थापासँग रहेको उनको भनाइ छ।

काँग्रेसले आफूलाई बदलेर देश परिवर्तन गर्ने दिशामा अघि बढिरहेको जिकिर गर्दै रसाईलीले युवाको पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने र जनताको विश्वास जित्ने नीति लिएको बताए । उनले फागुन २१ गतेपछि नेपालका प्रधानमन्त्री गगन थापा नै हुने दाबी समेत गरे ।

उनका अनुसार हालै सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीका स्पष्ट मुद्दा निर्धारण गरेको छ। सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवासहित सम्पूर्ण शीर्ष नेतृत्व देशव्यापी रूपमा एकजुट भएर चुनावी अभियानमा लागेको उनले बताए। पार्टीभित्रका सबै समूहलाई सम्मानपूर्वक सम्बोधन गरिएको र मुठभेडको राजनीतिबाट देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसले वहन गरेको रसाईलीको भनाइ छ।

सहमहामन्त्री रसाईलीले जेन–जी आन्दोलनको सम्मान गर्दै परिवर्तनको नेतृत्व गर्ने अठोटसहित काँग्रेस अघि बढेको उल्लेख गरे। विद्यार्थी राजनीतिबाट खारिएर आएका गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको र उनकै नेतृत्वमा काँग्रेस निर्वाचनमा जाने उनले स्पष्ट पारे । मुद्दा, निष्कलंक छवि र इतिहासका आधारमा संसददेखि सडकसम्म काँग्रेसको नेतृत्व स्थापित भएको उनको दाबी छ।

उनले युवाको विदेश पलायन रोक्ने, सुशासनको प्रत्याभूति गर्ने र देशमै बस्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए । निर्वाचनमा काँग्रेसले रुख चिन्हलाई थप बलियो बनाउँदै अघि बढिरहेको बताउँदै टिकट वितरणमा पूर्वसभापति देउवा तथा नेता डा. शेखर कोइराला समूहका नेताहरूले पनि न्याय पाएको उनको भनाइ छ।