काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा निर्वाचन (१३औँ अधिवेशन) स्थगित गरिएको छ। प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागू भएकाले महासंघले पूर्वनिर्धारित कार्यक्रम हाललाई रोक्ने निर्णय गरेको हो।
महासंघले माघ १५, १६ र १७ गते काठमाडौँमा साधारण सभा तथा निर्वाचन आयोजना गर्ने तयारी गरेको थियो। तर निर्वाचन आयोग नेपालबाट माघ ९ गते प्राप्त पत्रअनुसार माघ ४ गतेदेखि प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेको जानकारी गराइएपछि साधारण सभा स्थगन गर्नुपर्ने अवस्था आएको महासंघले जनाएको छ।
महासंघको स्थायी समितिको माघ ११ गते बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि २६औँ साधारण सभा तथा निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
निर्वाचन आचारसंहिता समाप्त भएपछि कम्तीमा १५ दिन अगाडि सूचना प्रकाशित गरी साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरिने महासंघले स्पष्ट पारेको छ।
महासंघको विधानको दफा ९ को उपदफा (१६) अनुसार यसअघि प्राप्त भइसकेका प्रतिनिधिहरू यथावत् कायम रहने पनि जानकारी गराइएको छ।
निर्वाचन आयोग नेपालको उक्त आचारसंहिता प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट तथा वस्तुगत संघ सदस्यहरूको साधारण सभामा समेत लागू हुने भएकाले सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न महासंघले सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्