मीठो वचनले होइन, स्पष्ट कृषि दृष्टिकोणले मात्र भोट दिनुस् : सहसचिव केसी


काठमाडाैँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कृषि क्षेत्र र किसानका मुद्दा पुनः केन्द्रमा आउनुपर्ने आवश्यकता औंल्याइएको छ। संघीय संसद् राष्ट्रिय नीति र कानुन निर्माण गर्ने सर्वोच्च थलो भएकाले यहाँ पुग्ने सांसदहरू राज्यका नीति–निर्माता हुने स्पष्ट पारिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.हरि बहादुर के।सीले सामाजिक सञ्जालमार्फत किसानलाई सचेत हुँदै उम्मेदवार चयन गर्न आग्रह गरेका छन्।

उनले किसानहरू देशका करिब दुई तिहाइ मतदाता भएको र कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिँदै आएको स्मरण गराएका छन्।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू खेतबारी र गोठसम्म पुगेर सहयोग र मीठा वचन बाँडिरहेको उल्लेख गर्दै डा.केसीले त्यति मात्र पर्याप्त नहुने बताएका छन्। उनका अनुसार उम्मेदवारमा राष्ट्रिय उत्पादन कसरी बढाउने, आयातमा निर्भरता कसरी घटाउने र स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म कसरी पुर्‍याउने भन्ने स्पष्ट दृष्टिकोण अनिवार्य हुनुपर्छ।

उनले किसानलाई भोट हाल्नुअघि उम्मेदवारसँग प्रश्न गर्न सुझाव दिएका छन्। कृषकमैत्री नीति र कानुन बनाउने स्पष्ट योजना के हो ? कृषि क्षेत्रलाई जीवन धान्न सक्ने सम्मानित रोजगारीको क्षेत्र बनाउने नीति के हुने ? जमिनको खण्डीकरण रोक्ने र खेती गर्ने किसानलाई पर्याप्त जमिन उपलब्ध गराउने उपाय के छन् ? खेतबारी बाँझिँदै जानु, युवाहरू विदेश पलायन हुनु र बाबु खेतीमा ज्यामी खोज्दै हिँड्नु पर्ने सामाजिक अवस्था किन सिर्जना भयो र यसको निकास के हो भन्ने विषयमा उम्मेदवारको धारणा के छ ?

त्यसैगरी कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाएर किसानले उचित मूल्य पाउने वातावरण कसरी बनाइन्छ ? कृषिवस्तुसँग सम्बन्धित कर तथा भन्सार दरका विषयमा उम्मेदवारको सोच के हो ? किसानलाई प्राविधिक सेवा, वित्तीय पहुँच र उत्पादन सामग्री सहज रूपमा उपलब्ध गराउन कस्तो संरचना र जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्न पनि उठाउनुपर्ने उनले उल्लेख गरेका छन्।

खाद्य सुरक्षा, देशको कृषि क्षेत्रको दीर्घकालीन भविष्य, किसानको अधिकार सुनिश्चित गर्ने उपाय र किसानीलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने सोचबारे पनि उम्मेदवारबाट स्पष्ट जवाफ खोज्नुपर्ने केसीको भनाइ छ। उनले यी प्रश्नहरूको जवाफ सुनेर मात्र सोचविचारपूर्वक मतदान गर्न आग्रह गर्दै किसान स्वयं सचेत भए मात्र कृषि क्षेत्रको वास्तविक रुपान्तरण सम्भव हुने बताएका छन्।