काठमाडौँ । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा क्षेत्रमा ग्रास रोप्ने योजना कार्यान्वयनमा लैजाने भएको छ।
हाल युवा तथा बालबालिकाका लागि खेलकुद गर्ने, ज्येष्ठ नागरिकका लागि आराम गर्ने र घाम ताप्ने स्थलका रूपमा प्रयोग हुँदै आएको यो खुला स्थान समय–समयमा विभिन्न सार्वजनिक कार्यक्रम आयोजना हुने स्थानसमेत हो।
सर्वसाधारणले नियमित रूपमा प्रयोग गर्ने यस क्षेत्रमै धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्या देखिँदै आएको भन्दै प्रयोगलाई थप सहज र व्यवस्थित बनाउन ग्रास रोप्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
यसका लागि बरमुढा चउरको जमिन सम्याई वातावरणमैत्री र आकर्षक खुला स्थानको विकास गर्ने लक्ष्य लिइएको छ।
६१ हजार २६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो चउरमा ग्रास रोप्न करिब २ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बोलपत्र प्रक्रियामार्फत छनोट भएको निर्माण कम्पनीलाई २०८३ मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने समयसीमा दिइएको छ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार कामको क्रममा पहिले जमिनको सतह सम्याइनेछ। त्यसपछि करिब ३ इञ्च मोटाइको मलिलो माटो राखी घाँस रोपिनेछ।
साथै, वर्षात्को पानी व्यवस्थापनका लागि चउरभित्र ६ मिटर गहिराइ र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट निर्माण गरिनेछ।
यस योजनाले खुला स्थानमा सर्वसाधारणको पहुँच थप सहज बनाउने, सामाजिक अन्तरघुलनलाई प्रवर्द्धन गर्ने, वातावरणीय सुधार ल्याउने र सहरी सुन्दरतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्