रास्वपाले सोसल मिडिया ‘स्टन्टबाजी’ गरेर भ्रम फैलाइरहेको प्रचण्डको आरोप


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाललाई स्टन्टबाजीको माध्यम बनाएर जनतामा भ्रम फैलाइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी देखिएको आरोप लगाए।

निर्वाचनका बेला सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नुबाहेक उक्त पार्टीसँग अरू कुनै एजेन्डा नभएको उनको भनाइ थियो।

संयोजक दाहालले मुलुक घण्टी बजाएर मात्रै नबन्ने उल्लेख गर्दै देश र जनताको हितका लागि सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। सबै वामपन्थी शक्ति एकजुट भए मात्रै वर्तमान चुनौतीहरू पार गर्न सकिने उनको धारणा थियो।

उनले भने, “घण्टी बजाएर मात्रै केही हुनेवाला छैन। अहिले सिद्धान्तको खडेरी, विचारको खडेरी छ। सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सक्छौं। बाँकी रहेका युवा र पुराना कमरेडहरूले पनि सोच्नुपर्छ—हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं, जसले मात्रै देश र जनताको सेवा गर्छ।”

संयोजक दाहालले नेकपा (क्रान्तिकारी) का नेता मोहन वैद्य ‘किरण’ लाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गरिने बताए ।