काठमाडाैँ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परेर निधन भएको छ। ६६ वर्षीय पवार सवार चार्टर्ड विमान बुधबार बिहान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
प्रारम्भिक विवरणअनुसार बिहान करिब ८ बजेर ४५ मिनेटमा अवतरणको प्रयास गरिरहेका बेला विमान धावनमार्गबाट चिप्लिँदै दुर्घटना भएको बताइएको छ। उक्त दुर्घटनामा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी तथा उडान परिचारिकासमेत गरी पाँच जनाको ज्यान गएको छ।
अजित पवार मुम्बईबाट बारामतीतर्फ चार्टर्ड विमानमार्फत यात्रा गरिरहेका थिए। उनी महाराष्ट्र पञ्चायत चुनावको तयारीका क्रममा बारामती पुगेर चारवटा चुनावी र्यालीलाई सम्बोधन गर्ने कार्यक्रम तय थियो। दुर्घटनाको समयमा राष्ट्रवादी कांग्रेस पार्टीका वरिष्ठ नेता शरद पवार र सुप्रिया सुले भने दिल्लीमा रहेको जनाइएको छ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। यसअघि प्रारम्भिक चरणमा छ जनाको मृत्यु भएको समाचार बाहिरिए पनि पछि त्यसलाई संशोधन गरिएको हो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको डीजीसीएले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्