आसन्न निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख सचेतक साह


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी राष्ट्रिय सभा प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक साहले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्।

उनले यस्ता गतिविधिले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने भन्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्न कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

प्रमुख सचेतक साहले आम मतदातालाई सामाजिक सञ्जालमा देखिने सबै सूचनामा विश्वास नगर्न आग्रह गर्दै सत्यता पुष्टि गरेर मात्र निष्कर्षमा पुग्न अनुरोध गरिन्। “म मतदाताहरूलाई अपिल र अनुरोध गर्दछु-सामाजिक सञ्जालमा आएका सबै कुराहरू सत्य हुँदैनन्। भेरिफाइ गरेर मात्र बुझ्नुपर्छ,” उनले भनिन् ।

उनले गलत तथा भ्रामक सन्देश सम्प्रेषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानुनको दायरामा ल्याई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरिन्।

प्रमुख सचेतक साहले निर्वाचनका क्रममा कुनै पनि दल वा उम्मेदवारले गलत सन्देश फैलाउने कार्य गर्न नहुने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै जिम्मेवार ढंगले निर्वाचनमा सहभागी हुन सबै पक्षलाई आग्रह गरिन्।