देशलाई खरानी बनाउनेले मुहार फेर्छन् भन्ने के ग्यारेन्टी छ ?: सांसद भट्ट


काठमाडाैँ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले भदौ २४ गते देशलाई अस्थिर बनाउने गतिविधिको नेतृत्व साहले गरेको आरोप लगाएका हुन्।

उनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छन् भन्ने कुनै ग्यारेन्टी नभएको जिकिर गरे । साथै, साहले काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतमा पाएको जिम्मेवारीसमेत पूरा नगरेको भन्दै आपत्ति जनाए ।

एउटा जिम्मेवारी पूरा नगरी अर्को जिम्मेवारीतर्फ जानु, पत्रकारको आवरणमा मन्त्री बन्ने र सांसद बन्ने प्रयास गर्नु गलत प्रवृत्ति भएको सांसद भट्टको भनाइ थियो। संविधान निर्माण र देशका लागि रगत–पसिना बगाएका नेताहरूलाई ‘पुराना’ भन्दै अर्ति–उपदेश दिनु कुनै पनि हालतमा जायज नहुने उनले स्पष्ट पारे ।

उनले भने, “देशलाई खरानी बनाउनेहरूले देशको मुहार फेर्छन् भन्ने के ग्यारेन्टी छ? एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने, आफूलाई ठूलो पत्रकारको रूपमा उभ्याएर मन्त्री खाने अनि माननीय बन्न खोज्ने प्रवृत्तिले विचार र सिद्धान्तका आधारमा देशका लागि खटिने मानिसहरू बदनाम हुँदै गएका छन्।”

सामाजिक सञ्जालमा स्टन्टबाजी गर्ने प्रवृत्तिबाट समेत देशलाई जोगाउनुपर्ने अवस्था आएको भन्दै सांसद भट्टले जिम्मेवार र मर्यादित राजनीतिक व्यवहारको आवश्यकता औंल्याए ।