निर्वाचनमा भ्रम छर्नेबाट सचेत रहन केसीको मतदातालाई आह्वान


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनको मुखमा देखिएका भ्रम छर्ने गतिविधिप्रति सचेत रहन आम मतदातालाई आह्वान गरेका छन्।

नयाँको नाममा नक्कली र कृत्रिम कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले यस्ता तत्वबाट सतर्क भएर मतदान गर्न आग्रह गरेका हुन्।

बुधवार बुटवलमा पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने सवालमा सबै देशभक्त र जनतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए। विगतमा पनि भ्रम छर्ने र चोटिला भाषण गर्ने व्यक्तिहरूलाई सांसद बनाइएको स्मरण गर्दै उहाँले आगामी निर्वाचनमा त्यही गल्ती दोहोरिन नहुने बताए ।

उनले देश अहिले कुन मोडमा उभिएको छ भन्ने विषयमा जनतालाई यथार्थ जानकारी गराउनु पत्रकार र सचेत नागरिकको दायित्व भएको उल्लेख गरे ।

नयाँ–नयाँ रूप र शब्द प्रयोग गरेर जनतालाई अलमल्याउने प्रयास भइरहेकाले त्यसप्रति दृढतापूर्वक सजग गराउनुपर्ने उनको भनाइ थियो।

राष्ट्रको अस्तित्व जोगाउने सवालमा सबै एकढिक्का भएर उभिनुपर्ने र मतदाताले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्ने अध्यक्ष केसीको जोड थियो।

विगतमा गल्ती र कमजोरी गर्नेहरूलाई पनि जनताले सांसद बनाएको भन्दै त्यसमा नेताहरू मात्र होइन, मतदाताको पनि जिम्मेवारी हुने उनले बताए ।