राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

केन्द्रीय समितिको निर्णयअनुसार दुईतिहाई मत प्राप्त गरी सशक्त सरकार निर्माण गर्ने लक्ष्यसहित निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको हो।

समितिको संयोजकमा पार्टी उपसभापति डोल प्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई तोकिएको छ। समितिमा सातै प्रदेशका प्रतिनिधि समेटिएका छन्।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रदेश समन्वय सचिवसहित सदस्यहरू चयन गरिएको पार्टीले जनाएको छ।

यसैगरी निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय निर्वाचन सम्पादन समितिअन्तर्गत तीन वटा विशेष उपसमिति पनि गठन गरिएको छ। आन्तरिक समन्वय उपसमितिको संयोजकमा रामकृष्ण भट्टराईलाई तोकिएको छ। यो उपसमितिले पार्टी संगठन र उम्मेदवारबीच आन्तरिक समन्वय गर्ने जिम्मेवारी पाएको छ।

प्रशासनिक समन्वय उपसमितिको संयोजक विष्णु कुमार श्रेष्ठ रहेका छन्। यस उपसमितिले निर्वाचन अवधिभर सुरक्षा तथा आवश्यक प्रशासनिक कार्यका लागि नेपाल सरकारका निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गर्नेछ।

त्यस्तै, संचार समन्वय उपसमितिको संयोजकमा प्रतिभा रावललाई जिम्मेवारी दिइएको छ। यो उपसमितिले सूचना संकलन, केन्द्रीकरण तथा आवश्यकतानुसार सञ्चारगृहहरूसँग समन्वय गर्ने कार्य गर्ने बताइएको छ।

पार्टीले संघीय संरचनाअनुसार प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र तहसम्म निर्वाचन सम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको छ। प्रदेशमा प्रदेश सभापति वा उनले तोकेको व्यक्तिको संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति, जिल्लामा जिल्ला सभापति वा उनले तोकेको व्यक्तिको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति र निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति संयोजक वा प्रत्यक्षतर्फका उम्मेदवारले तोकेको व्यक्तिको संयोजकत्वमा निर्वाचन क्षेत्र समिति गठन गरिने पार्टीले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा आवश्यक संख्या र शक्ति हासिल गरी देशको समग्र विकास, आन्तरिक सबलता तथा अन्तर्राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने लक्ष्यसहित निर्वाचन अभियानलाई तीव्र बनाउने जनाएको छ।