काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारले दङ्गा नियन्त्रणका उपकरण तथा विभिन्न सवारी साधनहरू नेपाल सरकारलाई उपलब्ध गराएको हो।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेटमा पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतबाट प्राप्त सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा उल्लेख गर्दै सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले देखाएको तत्परताको स्मरण गरे ।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै मन्त्री खनालले नयाँ सवारी साधनले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरे । उनका अनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो, जुन भारतीय सहयोगले न्यूनिकरण गरेको छ।
उनले भने, “नेपाललाई संकट पर्दा भारत सधैं पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा।”
नेपाल–भारत सम्बन्ध छिमेकी मात्र नभई भरपर्दो विकास साझेदारको पनि रहेको उल्लेख गर्दै उनले भविष्यमा यो मित्रता अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।
भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप २५० वटा सवारी साधन प्रदान गरेको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कुल ६५० सवारीमध्ये २५० वटा हाल उपलब्ध गराइएको र बाँकी आगामी साताभित्र उपलब्ध गराइने भारतीय अधिकारीले जानकारी दिए।
कार्यक्रममा अर्थमन्त्री खनालले निर्वाचन प्रयोजनका लागि भारत सरकारले अनुदानमा उपलब्ध गराएका सवारी साधनहरू स्वीकार गरिएको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्