काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र तयारीको काम तीव्र पारेको छ ।
सोही क्रममा पार्टीले विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलनका लागि छलफल गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा धारणा राखेका थिए ।
उनले नेकपा (एमाले) सुदृढ संगठन, व्यापक जनसमर्थन र लोकप्रियताका आधारमा मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको उल्लेख गरे ।
अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण एमाले नेतृत्वमा उदाहरणीय रूपमा सफल भएको दाबी गर्दै गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माणका लागि पनि एमालेले उच्च मनोबलका साथ नेतृत्व गर्ने बताए । साथै, राष्ट्रिय सुरक्षा सुदृढ गर्दै राष्ट्रिय एकता कायम गर्नु पार्टीको प्रमुख दायित्व रहेको उनकाे भनाइ थियो ।
सरकारका गतिविधि र राज्य संयन्त्रको कामकारबाहीलाई पार्टीले नजिकबाट नियालिरहेको जानकारी दिँदै अध्यक्ष ओलीले हालसम्म पनि सरकारले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए
उनले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा आत्मसमर्पणबाट सम्भव नहुने स्पष्ट पार्दै त्यसका लागि आवश्यक प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । कुनै पनि किसिमको आत्मसमर्पण स्वीकार्य नहुने कुरामा पनि उनले जोड दिए ।
अध्यक्ष ओलीका अनुसार एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत् नेपाली जनताको सुख र समृद्धिको चाहना पूरा गर्ने उद्देश्यसहित घोषणापत्र तयार गरिरहेको छ । पार्टीले व्यवहारिक र पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने कार्यक्रमहरू समेटेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्