काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीद दिवसका अवसरमा सबै वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न दृढ प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
सभापति थापाले २००७ सालको जनक्रान्तिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
उनले शहीदहरूको त्यागकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा श्वास फेर्न सक्षम भएको उल्लेख गर्दै सुदृढ र सबल लोकतन्त्रबाट मात्र नेपाललाई शान्त, समुन्नत र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा राखेका छन्।
सभापति थापाले वीर शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अघि बढ्नु आजको पुस्ता र नयाँ पुस्ताको साझा दायित्व भएको बताए।
शहीद दिवसले शहीदका सपना पूरा गर्ने र उहाँहरूले देखाएको मार्गमा हिँड्ने सङ्कल्पलाई थप बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
सन्देशमा नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्माण भएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ मा सुनिश्चित जनअधिकारको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन आवश्यक रहेको उल्लेख छ।
साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयासबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य हासिल गर्न आजको दिनले सबैलाई प्रेरणा दिने सभापति थापाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्